माओवादीको एफएम कसरी चल्छन् ?(How does Maoist FM Station Broadcast ?)
जब सांझ पर्न थाल्छ, डोकामा जेनेरेटर, झोलामा ल्यापटप, ट्रान्समिटर, एन्टिनासहित आवश्यक सामग्री बोकेर टोली सेल्टरबाट अग्लो डांडातिर लाग्छ। छानिएको ठाउंमा, खाल्डो खन्ने, बंकर बनाउने काम भइसकेपछि कोही एन्टिना ठड्याउन थाल्छन् भने कोही प्राविधिक पक्ष मिलाउन। मुश्किलले चार जना अटाउने छाप्रो -बंकर) भित्र प्राविधिकले सबथोक ठीक छ कमरेड भनेपछि शुरु हुन्छ- रेडियो जनगणतन्त्र नेपाल एफएम ९५.१ को प्रसारण।विसं २०६० असोज २४ गतेबाट परीक्षण प्रसारण शुरु भएको माओवादीको एफएम पार्टी अध्यक्ष प्रचण्डले २०६० कात्तिक २१ गते लेनिन दिवस तथा अक्टोबर क्रान्ति दिवसको अवसर पारेर विज्ञप्तिमार्फ औपचारिक घोषणा गरेका थिए। त्यसपछि पूर्व, विशेष, मध्य र पश्चिममा गरी चार स्थानबाट एउटै मेघाहर्ज ९५.१ मा एफएम सञ्चालन गरी सञ्चारजगत्मा फड्को मारेका थिए।
चारै ठाउंबाट निर्बाध चलिरहेको माओवादी एफएम माघ १९ पछि बनेको सरकारले उच्च प्रविधिको प्रयोग गरी मेघाहर्ज जुधाएर प्रसारणमा अवरोध पुर्याएको थियो। गत वैशाखमा दलको आहृवान तथा माओवादी र्समर्थनमा भएको जनआन्दोलनको सफलतापछि फेरि माओवादी एफएम पुनः सुचारु भएका छन्।
कसरी चल्छन् यी एफएम : राजधानी काठमाडौंलगायत देशका विभिन्न भागमा सञ्चालित चार दर्जनभन्दा बढी एफएम र माओवादीले चलाएका एफएम रेडियोको सञ्चालन प्रक्रिया निकै भिन्न छ। लामा, पक्की र शक्तिशाली टावर ठड्याएर उच्च प्रविधिसहित व्यवस्थित रुपमा चलेका अन्य एफएमको तुलनामा माओवादी एफएम चलायमान छन्। र, हरेक दिनजसो भिन्न ठाउंबाट प्रसारण हुन्छन्। पूर्वीप्रसारणका इन्चार्ज जुगल भन्छन्- आज एक ठाउंबाट भोलि अर्कै ठाउंबाट, ठाउं हेरेर एफएम चलाउंछौं। यी एफएम हप्ताको चार दिन आइत, मंगल, बिही र शुक्रबार चल्छन्। पूर्वी प्रसारण सांझ ६ बजेबाट बेलुकी पौने ९ बजेसम्म हुने रेडियो इन्चार्ज जुगलले बताए।नेपाली, अंग्रेजी, मैथिली र लिम्बुमा गरी चार भाषामा समाचार, पार्टीतिविधि, अन्तर्वार्ता, सांगीतिक कार्यक्रम, व्यंग्यलगायत कार्यक्रम प्रसारण गर्ने अधिकांस कार्यक्रम लाइभ हुने अर्का प्राविधिक बबिन जानकारी दिए। पार्टी जिम्मेवार व्यक्ति तथा कार्यक्रम संयोजक जुगलले गत वर्षसिन्धुलीमा १५ दिन लगाएर बंकर बनाई दर्ुइ वटा कार्यक्रम चलाएको स्मरण गर्दै भने- प्रसारण गर्नभन्दा जोगिन निकै गाह्रो। तीन महिलासहित ११ जनाको रेडियो सञ्चालक टोलीले कार्यक्रम उत्पादन, प्रसारण, प्राविधिक पक्ष तथा मेस सबै हर्ेने गरेको समाचार वाचिका सम्झनाले बताइन्।
यता गत ११ महिनादेखि बन्द अवस्थामा रहेको विशेष कमान्डको एफएम पनि सञ्चालनमा आएको छ। रेडियो इन्चार्जर् इश्वरचन्द्र ज्ञवालीका अनुसार आइतबार र बुधबार बिहान ६:३० देखि ७:३० सम्म र सांझ ५:३० देखि ८:३० सम्म चल्ने विशेष कमान्डको ९५.१ मेघाहर्जको एफएमले छिट्टै दैनिक प्रसारण शुरु गर्न लागेको छ। काठमाडौं उपत्यकालगायत वरपरका एक दर्जन जिल्लामा सुनिने उक्त एफएममा नेपालीका अतिरिक्त मैथिली, नेवारी र तामाङ भाषामा समाचार र विविध कार्यक्रम सञ्चालन भइरहेको छ।
अरु एफएमभन्दा शक्तिशाली र स्पष्ट सुनिने भनिए पनि माओवादी एफएमको प्राविधिक पक्ष भने केही फितलो छ। उनीहरू भन्छन्- युद्धका बेला सोहीअनुसारको आवश्यकतालाई बढी ध्यान दिइने भएकाले यसो भएको हो। यस्तो बेला हलुका र सजिला उपकरण बोक्ने गरिएको छ। अग्लो डांडामा १५ मिटर लामो बांसको टुप्पामा एन्टिना बांधेर ठड्याउने, ल्यापटप र ट्रान्समिटर सञ्चालनका लागि जेनेरेटर, चलाउने उनीहरूले पूर्वीप्रसारण सञ्चालन गर्न एक सांझ रेडियो नेपाल, नेपाल टेलिभिजन र कतिपय निजी सञ्चारमाध्यमका टावर रहेको भेडेटार डांडाकै हाराहारीको डांडामा एन्टिना ठड्याएका थिए। कार्यक्रम सकिएपछि पूरै संरचना भत्काएर रेडियो सञ्चालक टोली फर्केका थिए।
प्राविधिक रुपमा मुख्य भूमिका निर्वाह गर्ने ट्रान्समिटर कम वाटको भए पनि अग्ला डांडामा पुगेर कार्यक्रम गर्दा सबैतिर पुग्ने गर्दछ। प्राविधिक मनोज भन्छन् हाम्रो ट्रान्समिटर १०० वाटको मात्र छ। यद्यपि पूर्वीप्रसारणको एफएम पूर्वीपहाडका डेढ दर्जन जिल्लामा सुनिने दाबी उनले गरे।
यसमा सामान्य मिक्स्चरको माध्यमबाट आवाज मिक्सिङ गर्ने काम भइरहेको छ। हामीसंग डिजिटल मिक्स्चर पनि थियो, बोकेर हिंड्नै गाह्रो भएपछि साधारण मात्रै प्रयोगमा ल्याएका हौ-उनीहरूले बताए।
समाचार स्रोत : समाचारमूलक कार्यक्रम सञ्चालन गर्न माओवादीहरूले समाचार स्रोतका रुपमा आन्तरिक सञ्चार सेट, मोबाइल फोनका अतिरिक्त जिल्ला-जिल्लामा रहेका युद्ध समाचारदाताले पढाउने समाचार, अन्य एफएम, रेडियो, बीबीसी विश्व सेवा, अल इन्डया रेडियो, भ्वाइस अफ अमेरिकालगायत उपलब्ध भएसम्मका स्वदेशी तथा विदेशी पत्रपत्रिकालाई प्रयोग गर्ने गरेका छन्। जुगलका अनुसार सांगीतिक कार्यक्रममा भने पार्टीत्रकै कलाकारले तयार पारेका गीत तथा संगीत बढी र विचारोत्तेजक गीत बजाइने गरिएको छ। - Shreedhar Neupane Saugat
