Google
 

June 20, 2006

महिला जनसेनाहरुको नयाँ मुलुक बनाउने चाहना

नेत्र पन्थी/कपिलबस्तु

करिब पचास जनाको समूहमा प्रायः सबैको करिब एउटै उमेर छ । सबैको एउटै पोशाक छ । बोलीचाली भाषा र खानपिन त झनै एउटै छ । महिला र पुरुषको संख्या बराबरी देखिन्थ्यो । तर त्यस समूहमा सहभागी महिलाहरु आम नेपाली महिलाभन्दा फरक देखिन्थे । त्यो समूहमा सहभागी महिला देख्दा लाग्दथ्यो मुलुक बदल्ने जिम्मा यिनैको काँधमा छ । यो दृष्य गत जेठको अन्तिमसाता पश्चिम दाङको बाघमारे गाउँमा देखिएको थियो । बाघमारे घोराही बजारबाट करिब चालीस किलोमिटर पश्चिम पर्दछ । जुन ठाउँमा नेपाल सरकारको नामोनिसान भेटिँदैन अहिले ।

सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच युद्धबिराम भएको करिब एक महिनापछि जनसेनाको एउटा टोली यहाँ देखिएको थियो । जुन सेनालाई माओवादीले पश्चिम सैन्य कमाण्ड पाँचौ डभिजन दीर्घस्मृति बिग्रेडको पाँचौ बटालियन भनेर परिभाषित गरेको छ । एक बटालियन अन्तर्गत माओवादी जनसेनामा २०० देखि २५० सम्म छापामार रहने गरेका छन् । तर यसपाली युद्धविराम भएका कारण यस बटालियनका आधाभन्दा बढी छापामार यसबेला घरविदामा गएका छन् ।

माओवादी जनसेनामा सामान्य त ९ देखि १३ जना छापामार बराबर एक सेक्सन हुन्छ । चार सेक्सन अर्थात ३६ देखि ५२ जनासम्मको एक प्लाटुन हुन्छ । चार प्लाटुन छापामार बराबर एक कम्पनी हुन्छ । त्यसैगरी चार कम्पनी बराबर एक बटालियन हुन्छ । चार बटालियन बराबर एक बि्रगेड हुन्छ । तीन बि्रगेड बराबर एक डिभिजन हुन्छ र तीन डिभिजन छापामार बराबर एक कमान्ड हुन्छ । हाल माओबादीसँग सात डिभिजन र तीन कमान्डको जनसेना भएको बताइन्छ । ती सबैमा करिब चालीस प्रतिशत छापामार महिला छन् । यस बटालियनमा करिब आधा महिला नै छन् । निकै सन्तुलित जनसेना छ यस बटालियनमा’ बटालियन कमान्डर अस्मितालॆ भनिन् ।

घरको काममामात्र ब्यस्त देखिने आमनेपाली महिलाहरुका लागि त त्यो दृष्य अनौठो नै लाग्दथ्यो । नलागोस् पनि किन १८ देखि ३० बर्षसम्मका महिला छन् । उमेरले यिनीहरुको विवाह भइ सक्नुपर्ने हो तर धेरैको विवाह भएको छैन र विवाहलाई त्यति महत्व पनि दिँदैनन यिनीहरु । यसै बटालियनकी सदस्यसमेत रहेकी प्युठानकी १८ बर्षीय अनिताले भनिन्ः बिवाह ठूलो कुरा होइन । मुक्तियुद्धमा लागेपछि यसको त्यति चासो नहँदोरहेछ । फेरि आवश्यकता अनुसार विवाह पनि भैहाल्छ ।

घरका भान्सामा भाँडाकुँडा बजाउने र सुखसँग दिन बिताउन खोज्ने शहरिया महिलाले त सोच्नै नसक्ने गरी सबै किसिमका हतियार चलाउन पोख्त देखिन्छन् जनसेनामा लागेका महिलाहरु । यस बटालियनमा समावेस महिलाका हातमा थि्र नट थ्री राइफलदेखि एसएलआर एलएमजी र एके ४७ जस्ता अत्याधुनिक हतियारहरु देखिन्थे । तपाईँ हामीले खेलौना खेलाएजस्तै उनीहरु हतियार खेलाउँथे । महिला कमजोर हुन्छन् भनेर पुरानो राज्यसत्ताले सँधै महिलालाई दोस्रो दर्जामा राख्यो तर त्यसो होइन भन्ने हामीले प्रमाणित गरेर देखाइदियौँ । पश्चिम दाङको पवननगरनजिकै जनसेनाको प्रशिक्षणमा खटेकी ज्वार स्मृति बिग्रेडको एक बटालियनकी कमिशार तीस बर्षीय आस्थाले भनिन्ः हामी राजनीतिक होस् की फौजी जुनसुकै मोर्चामा पनि पुरुषभन्दा कमजोर छैनांै । हामी माक्स्रवाद लेनिनवाद माओवाद र प्रचण्डपथको विचारले सजिएका छौं । त्यसैले पनि हो हामी महिलाहरु आफूलाई कमजोर ठान्दैनौं । १० बर्षको जनयुद्धमा पनि देखिएको महिला सहभागिताले यसै कुरालाई पुष्टि गर्दछ ।

जनसेनामा महिलाहरुको चालीस प्रतिशत सहभागिता रहेको बताइएको छ । आधा आकाश ढाक्ने महिलाको जनसेनामा पनि पचास प्रतिशत सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ र त्यसैअनुसार महिला सहभागिता पनि बढाउँदै लगिएको छ नेकपा माओवादीका केन्द्रीय सदस्य पम्फा भुसालले भन्नुभयो ।

कमिसार र कमान्डर पनि महिला नै जनसेनामा महिलाहरुको जुनढंगबाट सहभागिता बढ्दै गएको छ । त्यही अनुपातमा नेतृत्व पनि बढेको पाइन्छ । यसैको उदारणमध्येका आस्था र अस्मिता पनि हुन् । कास्कीकी आस्थाको एसएलसी दिने बेलासम्म नस्र बन्ने चाहना थियो । तर २०४९ सालमा गाविस अध्यक्षले नागरिकता बनाउन झुटो सिफारिस गराइदिएपछि उनले नस्रका लागि जाँचसमेत दिन पाइनन् । जसले उनलाई संगठनमा लाग्न थप प्रेरणा दिएको थियो । २०४९ सालमा पृथ्बी नारायण क्याम्पसमा भर्ना भएपछि बिद्यार्थी संगठनमा काम गर्न थालेकी आस्थाले स्नातक तह भर्ना हँुदाहुँदै आफु भूमिगत भएको बताइन् । बिद्यार्थी संगठनबाट राजनीतिमा लागेकी आस्थाले महिला संगठन हुँदै माओवादीको क्षेत्रीय ब्यूरो सदस्यसमेत भएर काम गरिसकेकी छन् । आस्थाले २०६० सालदेखि जनसेनामा बसेर काम गर्न थालेको बताइन् । शुरुमा कम्पनी कमिशार भएर काम गरेकी आस्थाले अहिले पश्चिम सैन्य कमान्ड अन्तर्गत ज्वार स्मृति बिग्रेडको एक बटालियनको कमिशार भएर काम गरेकी छन् । म्याग्दीको बेनी अर्घाखाँचीको सन्धिखर्क मथुरा खनदह र जलुके बतासे रोल्पाको कोटगाउँ दुम्ला लगायतका दर्जनौ भिडन्तमा सामेल भएकी आस्थाले मथुरा भिडन्त आपुनो लागि अविस्मरीणय रहेको अनुभव सुनाउनुभयो । मथुरा भिडन्तमा दुई दर्जन सेना मारिएका थिए । जहाँबाट माओवादीले ठूलो परिमाणमा हात हतियार हात पारेका थिए ।

संगठनमा लागेपछि आस्थाले ठूलो मिहिनेत गरेर त अगाडि आइन् तर उनको जीबनमा पीडा पनि आई परे । अनेरास्ववियु क्रन्तिकारीका पूर्ब महासचिव पूर्ण पौडेल र आस्थाबीच १८ माध २०५४ जनवादी विवाह भएको थियो । १३ बैशाख २०५९ सालमा काठमाण्डौको कालीमाटीस्थित आफ्नै कोठाबाट प्रहरीले पक्राउ गरेका पौडेल आहलेसम्म बेपत्ता छन् । युनिफाइड कमान्डका प्रहरी निरीक्षक रामचन्द्र राईको नेतृत्वमा आएको सुरक्षाफौजले समातेर लगेपछि मेरो श्रीमान्को वास्तविक अवस्था अहिलेसम्म अज्ञात छ’ आस्थाले भावुक हँदै भनिन् । उहाँ जीवितै हुनुहुन्छजस्तो लाग्छ । कहिले हुनुहुन्छ जस्तो लाग्छ कहिले चाहीँ हुनुहुन्न जस्तो लाग्छ । यसपालीको वार्तामा राज्यद्रारा बेपत्ता पारिएका सबैलाई सार्वजनिक गरिनुपर्ने आस्थाले माग गरिन् ।

आस्थाजस्तै जनसेनामा बसेर काम गर्दा नाम कमाउन सफल भएकी अर्की महिला हुन् २५ बर्षीय बटालियन कमान्डर अस्मिता । २०५५ सालमा एसएलसी पास भएपछि महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएलगत्तै बिद्यार्थी संगठनबाट राजनीतिमा आएकी अस्मिता २०६१ असारदेखि जनमुक्ति सेनामा आएको बताउँछिन् । एक बर्ष कम्पनी कमिशार भएर काम गरेपछि आफू जनमुक्ति सेना पश्चिम सैन्य कमाण्ड पाँचौ डिभिजन दीर्घस्मृति बिग्रेडको पाँचौ बटालियनमा बटालियन कमान्डर भएको अस्मिताले जानाकारी दिइन । उनले भनिन् उनका घरबाट चारजना सदस्य माओवादी पार्टीका पूर्णकालीन कार्यकर्ता छन् । उनी सात बहिनीमध्येकी पाँचौ बहिनी हुन् ।’ गत फागुन चैत्र महिनातिर लुम्बिनी अाचलका ठूला ठूला भिडन्तमा संलग्न भएकी अस्मिता भन्छिन् ँपाल्पामा लडियो तीनगिरेमा लडियो । एक दर्जन जति मोर्चामा लडियो । आफू लडेको मोर्चाले विजय प्राप्त गर्दा साह्रै आनन्द आउँछ । उनले अनुभव सुनाउँदै भनिन् ँपाल्पाको सदरमुकाम कब्जा गर्दा धेरै खुसी लागेको थियो । कति ठाउँमा महत्वपूर्ण साथीहरु गुमाउनुपर्दा अध्यक्ष प्रचण्डको ँहामी हाँस्दा हाँस्दै रोएका छौ र रुँदारुँदै हाँसेका छौ’ भन्ने उदगार सम्मुन्छौं । साँच्चै साथीहरु युद्धमोर्चामा ढल्दा त्यो रगतले हामीलाई उर्जा थप्छ । फर्केर आउँदा समवेदना जाग्छ । जसले व्यवहार विचार र विज्ञान जन्म दिन्छ ।’

सविधानसभाको निर्बाचनपछि बन्ने राष्ट्रि्रय सेनामा योग्यताका आधारमा महिला सहभागिता गराइनु पर्ने उनको माग छ । ँहामीलाई प्रतिशतको आधारमा समावेस गर्न जरुरी छैन । महिला पनि युद्धमोर्चामा जाँदा पुरुष समान लडन सक्दछन् भनेर हामीले जनयुद्धको दौरानमा देखाइदियौं’ उनले जोसपूर्ण शैलीमा भनिन् जम्मेवारी क्षमता र दक्षताको आधारमा दिने कुरा होइन महिलाहरुलाई ।’

पार्टी संगठनमा र सेनामा काम गर्दा धेरै नै फरक हुने महिला छापामारको अनुभव छ । संगठनमा काम गर्दा जनतासँगमात्र घुलमिल हुन्छ । सेनामा आउँदा प्रत्यक्ष मोर्चामा दुष्मनसँग लडनुपर्छ’ कमिशार आस्थाले अनुभब सुनाउँदै भनिन् सेनामा काम गर्दा शारीरिक र मानसिक रुपमा तयार भएर बस्नुपर्छ । सेनामा हुँदा एउटा रातमा नै नतिजा आउँछ । रातभरको लडाइँमा हारजितको फैसला हुन्छ । सेनामा काम गर्दाको नयाँ अनुभव यहि हो’ अस्मिताले जोडिन् ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/20/p87/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft