Google
 

June 24, 2006

सेनाले बोल्नु आवश्यक छैन- गृहमन्त्री

गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हतियार व्यवस्थापन गर्ने र माओवादीलाई अन्तरिम सरकारमा ल्याउने प्रक्रिया सँगसँगै अगाडि बढाइने बताउनुएको छ । उहाँले अन्तरिम सरकारमा माओवादीलाई ल्याउँदासम्म दुवै पक्षका सेनालाई निष्कृय पारिने पनि बताउनुभयो । पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध आएको नेपाली सेनाको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो-सेनाले बोल्नु आवश्यक छैन । उहाँले माओवादीबाट आएका प्रतिक्रियाको जवाफ सरकारले दिने बताउनुभयो । शान्ति, लोकतन्त्र, समृद्धि , स्वतन्त्र, स्वाधिन, सार्वभौम नेपालको लक्ष्य बोकेर सरकार अगाडि बढिरहेको बताउनुभयो ।
वार्ता कमिटिका संयोजक समेत रहनुभएका सिटौलाले आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै हतियार व्यवस्थापन गर्नेतर्फ गृहकार्य भइरहेको बताउनुभयो । शान्तिवार्ता सेना र हतियार व्यवस्थापन, अन्तरिम संविधान र अन्तरिम सरकार बनाउने दिशातर्फ केन्दि्रत रहेको बताउँदै उहाँले भन्नुभयो-माओवादीको सेनालाई निश्चित स्थानमा केन्दि्रत गर्ने, उनीहरुका हतियार कतै राख्ने वा उनीहरुका सेनालाई कुनै जीम्मेवारी दिएर निष्कृय पार्ने तीन विकल्प खोजिएको छ । हतियार व्यवस्थापनमा सहयोगका लागि संयुक्त राष्ट्रसंघलाई पत्र पठाइने बताउँदै उहाँले राष्ट्रसंघबाट विशेष सहयोग रहनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । उहाँले राष्ट्रसंघबाट अनुगमन शुरु भएलगत्तै माओवादीलाई अन्तरिम सरकारमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो-हतियार व्यवस्थापनको प्रक्रिया शुरु भइसकेको छ । उहाँले आपसी विश्वासको वातावरणमा अन्तरिम सरकार निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले सरकार माओवादीबीच राजनीतिक एजेण्डामा समाधान आइसकेको र त्यसलाई जनस्तरसम्म पुर्‍याउने चुनौती मात्र बाँकी रहेको बताउनुभयो । ऐतिहासिक राजनीतिक उपलब्धि पछि निर्माण भएको दीगो शान्ति स्थापनातर्फको वातावरणलाई गाउँस्तरसम्म पुर्‍याउन नयाँ चेतना जागृत गर्नुपर्ने आवश्यकतालाई महशुश गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । उहाँले जनस्तरमा समझदारीपछि पनि समस्याहरु कायमै रहेको बताउँदै शान्ति वार्ता अनुगमन समितिको सक्रियताले समस्या हल गर्नमा उर्जा मिल्ने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-सोमबार वार्ता अनुगमन समितिको बैठक बस्दैछ त्यसले कार्य थालेपछि समझदारीको पालनामा हुने कमी कमजोरी जस्ता समस्याको हल हुन्छ । उहाँले वार्ताले गरेका निर्णयहरु कार्यान्वयन गराउन वार्ता कमिटि सक्रिय भइरहेको जानकारी गराउनुभयो ।
जनआन्दोलनको भावना अनुरुप सरकारले कार्य गरिरहेको बताउँदै उहाँले जनतालाई दीगो शान्ति दिलाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकलाई दीगो शान्ति र लोकतन्त्रको मार्गमा पुर्‍याउन १२ बँदे समझदारी गरिएको स्मरण गराउँदै उहाँले आठ बुँदे समझदारी १२ बुँदाको आधारमा टेकेर तयार पारिएको बताउनुभयो । उहाँले भन्नुभयो-आठ बुँदामा खासै नौलो कुरा छैन, यो १२ बुँदाबाटै उठेको अर्को उचाई होे ।
आठ बुँदे समझदारी निर्माण पछि आएका असन्तुष्टिका बारेमा बोल्दै मन्त्री सिटौलाले समस्याहरुलाई छलफल गरी समाधान गर्दै लगिने बताउनुभयो । आफूहरु जनता र शान्तिको पक्षमा भएको पटक पटक दोहोर्‍याउँदै उहाँले भन्नुभयो- हामीले जनताको भावनालाई आत्मासाथ गरेरै काम गरिरहेका छौं र सहमतीलाई जनताका सामु खुलस्त रुपमा लगेका छौं । उहाँले माओवादीसँग वार्ता गरी निष्कर्षमा पुग्ने कार्य जटिल भएको बताउँदै वार्ताका कतिपय अस्पष्टतालाई बुझाउन नसक्नु आफूहरुको कमजोरी भएको स्वीकार्नुभयो ।
नेपाली जनताले शान्तिपूर्ण जनआन्दोलनका माध्यमले अधिकार स्थापित गरी दुनियाँलाई सन्देश दिएको बताउँदै उहाँले जनतालेनै शान्ति स्थापना गरेर छाड्ने बताउनुभयो । उहाँले दीगो शान्ति स्थापनाका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/24/p109/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft