हामी कुनै पनि हालतमा हतियार बुझाउदैनौं- प्रभाकर, डेपुटी कमाण्डर, जनमुक्ति सेना
जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर प्रभाकर -जनार्दन शर्मा) माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ । रुकुमको सेरीगाउँ घर भएका प्रभाकर पछिल्लो पटक कालीकोटको पिलीमा भएको सैनिक व्यारेक आक्रमणपछि माओवादीको फौजी क्षेत्रमा निकै चर्चित कमाण्डरको रुपमा परिचित हुनुहुन्छ । लोकतान्त्रिक आन्दोलनको सेरोफेरोमा पार्टीले सञ्चालन गरेको ढाडमा टेक्ने अभियानअन्तर्गत गण्डक क्षेत्रमा भएका दर्जनौ भिडन्तको नेतृत्व गरिसक्नुभएका कमाण्डर प्रभाकरले पछिल्लोपटक विभिन्न खुला सभालाई सम्बोधन गरी सक्नुभएको छ । नेपाली सेनाले प्रधानमन्त्रीको निर्देशन मान्दैन भने जनमुक्ति सेना प्रधानमन्त्रीको निर्देशन पालना गर्न तयार भन्ने अभिव्यक्तिका खास खुला सभाहरुमा चर्चित हुनुभएका प्रभाकर अहिले भन्नुहुन्छ-संविधानसभाको निर्वाचनअघि जनमुक्ति सेना कुनै पनि हालतमा हतियार बुझाउन छैन । फेरि उहा थप्नुहुन्छ- तर संविधानसभामा जनताले अभिव्यक्त गरेको अभिमतको परिणामअनुसार हामी एकीकृत लोकतान्त्रिक सेना निर्माण गरेर अघि बढ्न भने तयार छौं । प्रस्तुत छ समसामयिक विषयमा केन्दि्रत रही पश्चिम नेपालको दाङमा क्रियाशील पत्रकारद्वय प्रताप रेग्मी र नरेन्द्र के.सी.ले उहाँसग लिनुभएको अन्तवार्ता-सम्पादक) @ अहिले माओवादी सेना र उसको हतियारबारे सत्ताधारी दलहरुभित्र ठूलो विवाद र एकखाले त्रास पैदा भएको जस्तो देखिन्छ । जनमुक्ति सेनाको डेपुटी कमाण्डरको हैसियतले यसलाई कसरी हेरिरहनुभएको छ ? ¤ विवाद र त्रास स्वाभाविक हो, अहिले त्यस्तो देखिएको छ तर यसको गहिराइमा विचार गर्यौं भने वास्तविकता त्यस्तो होइन । सामन्तवादी राज्यसत्ताले सयौं वर्षदेखि जनताको शोषण, उत्पीडन, हत्या, बलात्कार गर्दै आएको थियो । एक्काइसौं शताब्दीमा पनि त्यसलाई निरन्तरता दिएर अगाडि बढ्न खोजिरहेको थियो । तर हामीसँग भएको हतियारले उनीहरुको त्यो सामन्ती सपना ध्वंश गर्दै अगाडि बढ्यो । जनताको हातमा भएको हतियारको शक्ति र त्यसले पैदा गरेको आन्दोलनको अभिव्यक्ति जनताले यहाँसम्म आइपुग्दा व्यक्त गरिसकेका छन् । त्यसबाट सामन्तवाद एक ढंगले परास्त भएको छ भने साम्राज्यवाद आतंकित भइराखेको छ । यसबाट के बुझिन्छ भने जनता शक्तिशाली बन्दै गएका छन् । जनताको हातमा हतियार हुँदा जनता अझ बलिया हुँदारहेछन्, आफ्नो अधिकार प्राप्त गर्न सक्दारहेछन् । त्यसैले जनताले हतियार अझ बलियो गरी समात्नुपर्छ र जनतामा हतियार बिस्तार गर्नुपर्छ । @ सातदलहरुबाट पनि माओवादी हतियारबाट त्रसित भएकोजस्तो अभिव्यक्ति आइरहेको छ , तपाइँहरुको हतियार कतै उनीहरुकै विरुद्ध प्रयोग हुन्छ कि भन्ने त्रास पनि यदाकदा छ नि ? ¤ सातदलहरुले माओवादीहरुको हतियार उनीहरुका विरुद्ध प्रयोग हुने जुन कुरा देख्छन्, त्यो उनीहरुको भ्रम हो । उनीहरुमा राजनीतिक विश्लेषण गर्ने क्षमताको अभाव छ । यहाँको सामन्तवादसँग रहेको हतियारले नै जनतामा राज्यआतंक सिर्जना गर्दै जनताका सीमित अधिकार हरण गर्दै अगाडि बढेको हो । संसदीय दलहरुले हिंजो भोगचलन गर्दै आइरहेको सत्तालाई पनि उसले अपहरण गरेर लिएको प्रष्टै छ । अहिले माओवादीकै हतियारले आन्दोलनमा जुन भूमिका निर्वाह गर्यो र त्यो आन्दोलनकै परिणति आज उनीहरु सत्तामा पुगेका छन् तर सत्तामा पुगेपछि पुरानै चेतना र सोचअनुसार अगाडि बढ्ने दुर्भाग्यपूर्ण काम गरिराखेका छन् । यसबाट के प्रष्ट हुन्छ भने माओवादीको हतियार उनीहरुको विपक्षमा होइन, पक्षमा प्रयोग भइरहेको छ । तर उनीहरुले जनतालाई धोका दिंदैछन्, संसद विघटन गर्ने कुरामा सहमत भएर पनि अहिले नानाथरि कुरा गरिरहेका छन् । उनीहरुले पुरानो राज्यसत्ता शाही सेनाको हतियारको बलमा फेरि जनतामाथि पुरानै शासन कायम राख्न खोजिरहेका छन् । त्यसका विरुद्ध जनता सडकमा उत्रनु स्वाभाविक छ । तर संसदवादीहरुकै विरुद्ध हामी हतियार प्रयोग गर्दैनौं । १२ बुँदे सहमतिदेखि नै हामीहरु सहकार्य गर्दै आन्दोलनका सहयात्री हुँदै अगाडि बढिरहेका छौं । हाम्रा हतियारबाट आतंकित हुनु त्यो उनीहरुको विचार भन्दा पनि पछिल्लो चरणमा साम्राज्यवादीहरुको निर्देशनमा गरिएको आशंका मात्र हो । यसले पार्टीहरु कसरी चल्छन् र उनीहरुको कमान कहाँ छ भन्ने कुरा पनि स्पष्ट गर्दछ । एउटा सहमति गर्छन्, हस्ताक्षर गर्छन् तर त्यसको मसी सुक्न नपाउँदै फेरि बिरोधमा उत्रन्छन् । उनीहरु आफैले गरेको सहमतिविरुद्ध किन छन् ? किन उनीहरुमा आत्मविश्वास छैन ? अहिलेका संसदवादीहरुले फेरि प्रतिगामी तत्वहरुको आडमा सत्ता टिकाउन खोजिरहेका हुन् भने त्यो देशका लागि र स्वयं उनीहरुका लागि ठूलो दुर्भाग्य हुनेछ । जनताले चाहेको शान्ति र अग्रगमनको बाधक संसदवादी पार्टीहरु हुनेछन् । उनीहरुलाई त्यसरी नआउन हामी आग्रह गर्दछौं र हाम्रो हतियार कुनै पनि हालतमा संसदवादीहरुविरुद्ध चल्दैन भन्ने कुरालाई हामीले व्यवहारमै पुष्टि गरिसकेका छौं । उनीहरुविरुद्ध हाम्रो हतियार न हिंजो प्रयोग भयो, न भोलि हुनेछ । @ अहिले सरकार र माओवादीबीचको वार्ता अपेक्षा गरेअनुसार अघि बढ्न सकिराख्या छैन, वार्तामा भएको ढिलाइको कारण के होला जस्तो लाग्छ यहाँलाई ? ¤ नेपाली जनताले मात्र होइन विश्वले पनि अत्यन्त चासो, उत्सुकता र सचेतताका साथ हेरिरहेको वार्ता प्रक्रिया अवरुद्ध भइराख्या छ । वार्ता ढिलाइ मात्रै होइन अवरुद्ध नै भइराख्या छ । त्यो अवरुद्ध भएको स्थितिलाई अगाडि लैजानका लागि हाम्रो सर्वोच्च कमाण्डर प्रचण्डले अत्यन्त ठूलो मेहनत गरिरहनुभएको छ । यत्रो दिन काठमाडौंमा बसेर एउटा राजनीतिक मोर्चावन्दी सञ्चालन गर्दै, थुप्रै भ्रम र अन्योलहरुलाई चिर्दै जसरी हुन्छ सहमतिमा पुगेर शान्ति स्थापना गर्ने हाम्रो पार्टीको प्रतिबद्धतालाई उहाँले व्यवहारतः पुष्टि गर्ने काम गरिराख्नुभएको छ । हामीले छिटो भन्दा छिटो जनताका मागअनुसार संसद विघटन गरेर नयाँ अन्तरिम सरकार बनाएर संविधानसभामा जानका लागि राख्नुपर्ने विषयवस्तुहरु सबै राखिसक्यौं । संसद विघटन गर्ने, अन्तरिम सरकार बनाउने र हाम्रा गणतान्त्रिक सत्ताहरु विघटन गर्ने कुराहरु सहमति भइसकेका विषय हुन् । हामी आफूले गरेका सहमतिहरुप्रति प्रतिबद्ध छौं भन्ने कुरामा जनता पूर्ण विश्वस्त छन् । तर, यहाँनेर हाम्रो लडाइँ कहाँ छ त भन्दा त्यो लडाइँ एउटा ध्रुवीकरण र एउटा मोडमा छ । जो राजनीतिक तरलता छ यसलाई विश्लेषण गर्दा के कुरा देख्न सकिन्छ भने यहाँनेर जनताले जुन अग्रगामी रुपान्तरण चाहिरहेका छन्, यसका विरुद्ध अर्थात् गणतान्त्रिक धारका विरुद्ध यतिबेला संसदवाद, साम्राज्यवाद र सामन्तवाद एकीकृत भएर जनताको गणतान्त्रिक चेतनाविरुद्ध हमला गरिरहेका छन् । यी तीन प्रवृत्तिहरु एकीकृत भएर जनतामाथि हमला गरिरहेका छन् । फेरि उनीहरुले षडयन्त्र शुरु गरेका छन् । र, पनि हामीले र हाम्रो हेडक्वाटरले एकपछि अर्को गर्दै ती षड्यन्त्रहरुलाई परास्त गर्दै हामी अगाडि बढिराखेका छौं । जनताको आन्दोलन र जनताको विजय अघि बढिराख्या छ । षड्यन्त्रहरुका विरुद्ध जनताको सर्वहारावर्गीय नेतृत्व अघि बढ्दा उनीहरु आतंकित छन्, त्रसित छन् । त्यसैले उनीहरुले वार्तालाई लिंगरिङ गर्ने, ढिलाई गर्ने र विथोल्ने कार्य गरिरहेका छन् । यो उनीहरुको अन्तर्निहित नियत हो । सारमा भन्नुपर्दा सामन्तवादी, साम्राज्यवादी र संसदवादी प्रवृत्तिहरुको गठजोड नै वार्ता ढिलाइको मुख्य कारण हो । तर पनि हामीले ती षड्यन्त्रहरुविरुद्ध एकपछि अर्को राजनीतिक र वैचारिक आक्रमण गर्दै परास्त गरिरहेका छौं । आम बुद्धिजीवी, आम व्यवसायीलगायतका प्रबुद्ध व्यक्तिहरुलाई साथमा लिएर नयाँ नेपालको स्पष्ट भिजनसहित हाम्रो पार्टी हेडक्वाटर शान्ति र अग्रमनको योजनामा निरन्तर लागिरहेको छ । यसबाट हामी के बुझ्छौं भने एकपछि अर्कोस्तरमा जनताको विजय भइरहेको छ । अर्कोतिर सामन्तवाद, साम्राज्यवाद र संसदवाद एकपछि अर्को गर्दै हारिरहेको छ । उनीहरुले हारिरहेका छन् र जनताले जितिरहेका छन् । उनीहरु अन्तिम हारबाट बच्न षड्यन्त्र गर्दैछन् र त्यही षड्यन्त्रका कारण वार्ता ढिलाइ भइरहेको छ । @ अनि यो षड्यन्त्रमा संसदवादी र विदेशीहरुको मात्रै नभएर राजावादीहरुको पनि कत्तिको हात छ जस्तो लाग्छ यहाँहरुलाई ? ¤ मैले भनें सामन्तवादी एउटा धार पनि अहिले सक्रिय छ । ऊ अहिले आँफै मञ्चमा अगाढि आउने वातावरण छैन र सक्दैन । जनताको आन्दोलनबाट जसरी पछारिएको छ त्यो, पछारिएको राजावादी धार आफै मञ्चमा आउन सक्दैन । यतिबेला उसले मञ्च संसदलाई बनाइरहेको छ । राजावादी तत्व अर्थात् ज्ञानेन्द्रको पनि मञ्च यतिबेला संसद बनिरहेको छ । संसदबाट कतिपयले त्यस्तो धारणा बोलिरहेका छन्, जनताको लोकतान्त्रिक धारणाविपरीत बोलिरहेका छन् यसबाट प्रष्ट हुन्छ राजावादीहरुले संसदलाई आफ्नो मञ्चको रुपमा प्रयोग गरिरहेका छन् । सरकारमा बसेर कतिपय मन्त्रीहरुले जनता र आन्दोलनको विरुद्ध बोलिरहेका छन्, यी अभिव्यक्तिहरु भनेकै राजावादी तत्वहरुको उक्साहटबाट आएका अभिव्यक्तिहरु हुन् । संसदवाद यतिबेला सामन्तवाद र साम्राज्यवादको मञ्चको रुपमा प्रयोग भइहेको छ । त्यो भित्र पनि फेरि गणतन्त्रवादी चेतना भएकाहरु पनि छन् । तर सत्तामा हालिमुहाली गरिरहेका अधिकांशले यतिबेला सामन्तवादको लठ्ठी टेक्दै जनतालाई फेरि धोका दिने प्रयत्न गरिरहेका छन् । यो ठोकेरै भन्न सकिन्छ कि यतिबेला राजावादी तत्वहरु र साम्राज्यवादी तत्वहरुको मञ्चको रुपमा संसद प्रयोग भइरहेको छ, संसद विघटन गर्नुपर्ने जनताको जो माग छ यसको झन् उचाइबाट पुष्टि हुँदैछ । यदि अहिले संसद विघटन गर्न संसदवादीहरु तयार हुँदैनन् भने अब जनताको आन्दोलन अघि बढ्नेछ र त्यसले संसद विघटन गर्नेछ । @ यहाँहरुले आफूलाई एक्काइसौं शताव्दीका कम्युनिष्ट भनिरहनुभएको छ र बहुदलीय प्रतिपष्र्धालाई पनि स्वीकार गरिरहनुभएको छ तर पनि केही विदेशी शक्तिकेन्द्र र कतिपय संसदीय राजनीतिक दलहरुले अझै यो कुरालाई विश्वास गर्न सकिरहेका छैनन्, किन भएको होला यस्तो ? यी समग्र पक्षलाई भन्नुपर्दा बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर हामी अघि जाने कुरा र हामी कुनै परम्परावादी कम्युनिष्ट नभएर एक्काइसांै शताव्दीको आवश्यकताअनुसार हामीले पनि एउटा भूमण्डलीकृत राज्यव्यवस्था स्थापना हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ प्रस्ताव अघि सारेका हौं । जसको प्रयोगबाट साम्राज्यवाद र सामन्तवादले आहत भएका जनता र पुरानो कम्युनिष्ट व्यवस्थाको त्रुटीका कारणले पैदा भएका संकटहरु समाधान गर्ने गरी नयाँ राज्य व्यवस्था निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो र त्यसरी हामी अघि बढिरहेका छौं । यसरी अगाडि बढ्दा साम्राज्यवादले आफ्नो काल देखिरहेको छ । नेपालमा त्यस्तोखाले राज्यव्यवस्था लागु भयो भने त्यसले विश्वभरि पार्ने प्रभावका कारणले उनीहरु डराइरहेका छन् । हामी प्रतिष्पर्धात्मक तरीकाले अघि जान्छौं भन्दाभन्दै पनि उनीहरु त्यसरी डराएर नै कथित प्रजातन्त्रका नाममा दमन गरिरहेका छन्- साम्राज्यवादले विश्वास नगरेको यसकारणले हो । उनीहरु हामीलाई विश्वास नगरेको भन्दा पनि विश्वभरिका परिवर्तन चाहने जनताले हामीलाई विश्वास गरेका छन् । र त साम्राज्यवादी सरकारहरुले लगाएका कथित आतंककारी आरोप विश्वभरिका जनताले खण्डन गरिरहेका छन् । नेपालको माओवादी परम्परागत कम्युनिष्ट होइन र नयाँ भिजनसहित आएको एक्काइसौं शताव्दीको कम्युनिष्ट हो भन्ने कुरा विश्वभरि स्थापित भएको छ ।
@ यहाँ दुबै पक्षको हतियार र सैन्य व्यवस्थापन तथा अनुगमनमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ आउँदैछ । अमेरिकी साम्राज्यवाद र अन्य शक्ति राष्ट्रहरुको प्रभुत्व छ भनेर जान्दाजान्दै पनि यहाँहरुले संयुक्त राष्ट्रसंघको अनुगमनलाई किन स्वीकार गर्नुभयो ?
¤ संयुक्त राष्ट्रसंघमा अवश्य पनि शक्ति राष्ट्रहरुको हात छ तर पनि राष्ट्रसंघ विश्वका सबै शक्तिहरुलाई स्वीकार्य हुने एउटा साझा संस्था भएको हुँदा त्यो संस्थाले नेपालमा आएर शान्ति स्थापनामा सहयोग पुर्याउन अनुगमन गर्ने कुरा हामीले स्वीकार गरेका छौं । उसले आएर सबै व्यवस्थापन गर्ने कुरा होइन, उसले त नेपालमा रहेका दुईवटै सेनाको व्यवस्थापनको क्रममा आवश्यक अनुगमन गर्ने कुरा हो । त्यो व्यवस्थापनबाट अन्य शक्ति राष्ट्रहरु पनि विश्वस्त होऊन् भनेर नै हामीले राष्ट्रसंघको सहयोग स्वीकार गरेका हौं । नेपालको यथार्थ दृष्टिकोण सबैतिर जाओस् भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो ।
@ केपी ओलीलगायत केही नेताहरुले संविधानसभाअघि नै माओवादीले हतियार बुझाउनुपर्छ भन्ने कुरा गरिरहेका छन् के यो संभव छ ?
¤ बिडम्बनाको कुरा के छ भने खड्ग ओलीजस्ता मन्त्रीहरुले के भन्दै हिड्नुभाको छ भने राज्यले त्यसो गर्दैन तर माओवादीले संविधानसभाअघि हतियार बुझाउनुपर्छ भन्ने कुरा आइरहेको छ । नेपालमा अहिले दुईवटा राज्यसत्ताहरु छन् । ती दुईवटा सत्ता कायम रहेको स्थितिमा यदि पुरानो सत्तालाई हतियार चाहिन्छ भने हाम्रो नयाँ सत्तालाई त झन् हतियार स्वतः चाहिन्छ किनकि यो वास्तविक जनताको सत्ता हो । उसले किन हतियार बुझाउने ? उसले किन हतियार छोड्ने ? हामीले हतियार बुझाउने प्रश्नै आउँदैन । हामी हतियार छोड्दैनौं । संविधानसभामा कुनै बाधा नपुगोस् भनेर दुबै सेनालाई व्यवस्थापन गर्ने कुरा, संविधानसभापछि त्यसको निर्णयअनुसार दुबै सेनालाई एकीकृत लोकतान्त्रिक गणतान्त्रिक सेनामा विकास गर्ने प्रतिबद्धता हामीले आफ्नो ठाउँबाट जाहेर गरिसकेका छौं । हाम्रा सर्वोच्च कमाण्डर कमरेडले जाहेर गरिसक्नुभएको छ । अर्को पनि राज्यसत्ता छ भन्ने कुरा भुलेर हामीसँग भएको बन्दुक बुझाउनुपर्ने तर राजा र हिजोका शाही सेनाको हातमा रहेका बन्दुकहरु बुझाउनु नपर्ने नेपाली जनताका लागि यो स्वीकार्य कुरा हैन । हामी यो काम कुनै हालतमा पनि गर्न सक्दैनौं । जनताको अधिकारलाई हामी सामन्तवादसामु बुझाउन सक्दैनौं । संविधानसभाको निर्वाचनमा जानका लागि अहिलेका दुबै सेना र हतियारहरु निश्चित क्षेत्र, निश्चित व्यारेक र निश्चित विन्दुमा राख्न आवश्यक छ । त्यसको लागि हामी प्रतिबद्ध छौं । यो प्रस्ताव हाम्रो पार्टीबाट अघि बढिसकेको छ । जनमुक्ति सेनाले बोकेको हतियारनेपाली जनताको हतियार हो, बुझाउन परे हामी नेपाली जनतालाई बुझाउँछौं । यो कुनै जनविरोधी शक्तिहरुको हतियार होइन । नेपाली जनतालाई हामी हतियार त्यतिबेला बुझाउनेछौं जतिबेला नेपाली जनताले संविधासनभामार्फत आफ्नो अभिमत जाहेर गर्नेछन् । जनताले जे निर्णय गरेर जे निर्देशन हामीलाई दिनेछन् हामी सोहीअनुरुप काम गर्न तयार छौं । हामीसँग राजनीतिक इमान्दारिता छ । हामी आफ्नो सहमतिप्रति प्रतिबद्ध छौं । तर संसदीय दलभित्रका केही व्यक्तिहरुले जसरी हामीलाई धोका दिन खोजिरहेका छन्, यो कुराले के कुराको पुष्टि हुन्छ भने हामीले हतियार बुझाउनुहुन्न । हामीले हतियार बुझायौं भने देशमा ठूलो दुर्भाग्य हुन्छ । हाम्रो हतियारले होइन कि हामीले हतियार बुझाएमा शान्ति प्रक्रिया बिथोलिन्छ । हाम्रो कुरा यो पनि स्पष्ट छ- हामीसँग भएको हतियारले शान्ति प्रक्रियामा बाधा गरेको छ भने देशमा भएका सबै हतियारलाई डिकमिशनिङ गरौं । अन्यथा वास्तविक राज्यसत्ता र वास्तविक जनताको सेनाले हतियार बुझाउने प्रश्नै आँदैन । जनताको आदेशविना हामी कसैलाई पनि हतियार बुझाउँदैनौं । जनताको आदेश भनेकै संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने हो । संविधानसभाले हतियार राज्यको हितको निम्ति कसरी सञ्चालन गर्ने भन्ने जे निर्णय गर्छ हामी त्यो मान्न तयार छौं । हामी जनतालाई निःशस्त्र पारेर सामन्तवादलाई सशस्त्र हुन दिदैनौं । शान्ति स्थापनाकै लागि जनमुक्ति सेनासँग हतियार रहन आवश्यक छ ।
@ तपाइँहरुको आगामी बाटो के हुन्छ ?
¤ हामी शान्तिपूर्ण तरीकाले लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न चाहन्छौं । शान्तिपूर्ण तरीकाले अघि बढ्नुपर्छ भन्ने जनताको उच्च चाहना छ । हाम्रो पार्टी जनताको पार्टी भएका कारण जनताको उच्च चाहनाको सम्मान गर्दै हामी शान्तिपूर्ण तरीकाबाट लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न प्रतिबद्ध छौं । तर, यहाँसम्म आइपुग्दा यो हाम्रो प्रतिबद्धता र आत्मविश्वासलाई खल्बल्याउनका लागि यथास्थितिवादी संसदवादी तत्वहरु संसदलाई बचाइराख्न मरिहत्ते गरिराखेका छन् । आन्दोलनका विरुद्ध सामन्तवाद र साम्राज्यवादको गठजोडका आधारमा गरिएको षड्यन्त्र थियो संसद पुनस्र्थापना । जनताको आन्दोलनको म्याण्डेटभन्दा पनि जनताको आन्दोलनविरुद्ध पुनस्र्थापित भएको हो संसद । यसलाई बचाइराख्ने जुन दुष्प्रयास गरिएको छ यसले शान्ति प्रक्रियाको बाटो अवरुद्ध गर्न खोजिरहेको छ तर फेरि पनि हाम्रो बाटो भनेको शान्तिपूर्ण ढंगबाट अघि बढ्ने नै हुन्छ । यसमा हामी अन्त्यसम्म प्रयास गछौर्ं र सानोभन्दा सानो कुनै पनि सम्भावना रहँदासम्म हामी प्रयास गरिराख्छौं । हामी कुनै पनि हालतमा युद्धविराम भंग गर्दैनौं तर संविधानसभासम्म पुग्ने बाटो अवरुद्ध गरिन्छ भने हामी आमजनतामा अपील गर्नेछौं कि त्यसका विरुद्ध जनताले सशक्त आन्दोलनलाई अघि बढाउनुपर्छ । १९ दिनपछि रोकिएको कडीलाई फेरि शुरु गर्नुपर्छ । अब त्यो आन्दोलन फेरि १ दिनबाट होइन २० औं दिनबाट शुरु हुन्छ र कतिदिन लैजानुपर्छ लैजान्छौं । फेरि फर्केर बन्दुक उचाल्ने नभएर जसरी हुन्छ जनताको अभिमतअनुसार हामी अघि बढ्छौं ।
@ माओवादीले जुन जातीय, क्षेत्रीय स्वायत्त प्रदेशको अवधारणा ल्याएको छ, यसलाई एक कोणबाट राष्ट्रलाई विभाजन ल्याउँछ भनेर विश्लेषण गर्ने गरिएको छ । यसलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
¤ जनतालाई अधिकारसम्पन्न गर्नुहुन्न भन्ने दृष्टिकोणबाट ग्रसित छ त्यो विश्लेषण । यसलाई जसरी विखण्डन ल्याउने अर्थमा व्याख्या गरिन्छ नि, वास्तवमा नेपाली जनताले अधिकार नपाउँदाको अवस्थामा पो जनताको मनोविज्ञान विखण्डित भइरहेको छ । जसलेे नेपाली जनतामा उत्पीडन गरिरहेको छ त्यसले पो मुलुकलाई विखण्डनको दिशातिर धकेलिरहेको छ । त्यो विखण्डन रोक्न पनि जनतालाई अधिकार दिन जरुरी छ । सबै जनजातीहरुलाई अधिकारसहित एकीकृत गर्ने र बृहत् नेपाल निर्माण गर्ने प्रस्ताव हो यो । जातीय र क्षेत्रीय स्वायत्तताको प्रस्ताव हाम्रो मनोगत प्रस्ताव होइन । यो त नेपालको वस्तुगत तथ्यको आधारमा ल्याइएको प्रस्ताव हो । लुटिएको अधिकारलाई फिर्ता गरेर पिछडिएका जनजातिलाई अघि बढाउनुलाई राष्ट्रको बिखण्ड भन्नुको कुनै अर्थ छैन । त्यो जातिलाई राजनीतिक चेतना दिने कुरा, स्वास्थ्य शिक्षाको समान अवसर दिने कुराले बिखण्डन गर्दैन बरु बिखण्डन त एक जातिले एक क्षेत्रले अर्को जाति र अर्को क्षेत्रमा गर्ने उत्पीडनले ल्याउँछ । देशलाई नयाँ ताकतसहित अघि बढाउने भिजनलाई नबुझ्नेहरुले यसलाई खण्डन गर्नु अस्वाभाविक होइन । तर त्यो खण्डनको पनि नेपाली जनताले व्यवहारिकढंगबाट पुनर्खण्डन गरिसकेका छन् ।
@ र, अन्त्यमा तपाई पनि राप्ती अञ्चलको व्यक्ति, शुरुमा राप्ती क्षेत्र माओवादी जनयुद्धको उद्गमस्थल र अहिले केन्द्रीय आधार इलाकाको रुपमा पार्टीले यसलाई मान्यता दिएको छ । जनमुक्ति सेनाको डेपुटी कमाण्डरको हैसियतले राप्तीबासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
¤ नेपाली जनयुद्धको केन्द्र राप्ती क्षेत्रलाई जसरी हामीले केन्द्रीय आधार इलाकाको रुपमा विकास गर्न सकेका छौं, यो विशेषगरी पार्टीको योजना र यहाँका जनताको चेतनाको आधारमा विकसित भएको हो । तुलनात्मकरुपमा यहाँका जनताको राजनीतिक चेतना अगाडि नै थियो । जस्तो थवाङको कुरा गर्दा उसले पञ्चायती चुनाव बहिष्कार गर्ने सम्मको जनताको चेतना अभिव्यक्त भएको हामी पाउँछौं । यहाँका जनताको चेतना पनि उच्च भएको र यहाँ आधारभूत वर्गका जनताको बाहुल्यता पनि भएको स्थितिमा पार्टीले यो क्षेत्रलाई एउटा जनयुद्धको केन्द्र बनाउने योजना बनायो र पार्टी केन्द्रीय समितिले सोही अनुसारको कार्यक्रम ल्यायो । अनि राप्ती क्षेत्र जनयुद्धको केन्द्र र अहिले केन्द्रीय आधार इलाकाको रुपमा विकास भयो । विशेषगरी रोल्पाली जनताले खेलेको भूमिका र थवाङी जनताले जनयुद्धपूर्व नै देखाएको क्रान्तिकारी स्पिरिटको आधारमा आन्दोलनको एउटा प्रक्रिया यसरी विकसित भयो कि रोल्पा समग्र जनयुद्धको केन्द्र बन्न पुग्यो । रोल्पाली जनताको त्याग, तपस्या र वीरता ठीक ढंगले अभिव्यक्त हुँदै अघि बढ्यो र रोल्पाले समग्र आन्दोलनको नेतृत्व गर्यो । रोल्पाको नेतृत्वमा रुकुम गाँसिन आयो र रुकुमेली जनताको त्याग, तपस्या र बलिदान पनि रोल्पाको उचाइसँगै गासिदै अघि बढ्यो । जनयुद्धले रोल्पा रुकुमलाई विश्वव्यापी रुपमा चिनाउने काम गरेका छ । युद्धको विस्तार हुँदै आउँदा रोल्पा र रुकुममा सल्यान, दाङ र प्युठान पनि एकाकार हुँदै आए र राप्ती सिंगो केन्द्रीय आधार इलाका बन्यो । अहिले यो राप्तीको आधार इलाकाले सिंगो देशभरिका आधार इलाकाहरुको नेतृत्व गरिरहेको छ । यसरी देशभरका आधार इलाकाहरुको नेतृत्व केन्द्रीय आधार इलाका अर्थात राप्तीले गरिरहेको छ भने केन्द्रीय आधार इलाकाको नेतृत्व रोल्पा रुकुमले गरिरहेका छन् । यसरी भन्दा सिंगो देशको नेतृत्व रोल्पा रुकुमले गरिरहेका छन् । यसलाई सिस्ने र जलजलाको प्रतीकको रुपमा पनि व्यक्त गर्ने गरिएको छ । यसरी राप्तीको भूमिका विश्वव्यापीकरण हुनुमा यहाँका जनताको त्याग, तपस्या र वीरताको परिणति हो । हाम्रो पार्टी नेतृत्वले जसरी यो क्षेत्रलाई केन्द्र बनाएर जानुपर्छ भनेर सोच्यो अनि यहाँका जनताले सहर्ष स्वीकार गरे । हाम्रो पार्टीको सपना साकार पार्दै यो क्षेत्रले बर्गसंघर्षको नेतृत्व गर्दै आएको छ । युद्धको विकास यसरी हुँदै गयो कि पूर्व पश्चिमको सबै भू-भाग रोल्पा रुकुममा आएर एकीकृत भइसके । यहाँ जन्मिएर यहाँबाट हुर्किएर तपाइँ हामी सबैले एउटा मिशनका साथ मुलुकलाई अघि बढाउने प्रण गरेका छौं । र, राप्तीवासी भएकाले यो अवसर पनि पाएका छौं । यसप्रति गौरव गर्दै सिंगो राप्तीबासीले यो उपलब्धिलाई झनै उचाइमा उठाउने प्रण गरौं । यही मेरो सन्देश र अपील छ ।
