वार्ता विथोल्न सेनाले गोली चलायो
नेकपा माओवादीले पाल्पा सदरमुकाम तानसेन नगरपालिका कार्यालयमा बसिरहेका आफ्ना जनमिलिसियामाथि सेनाले गोली चलाएको बताएको छ । गए राती करिव साढे १२ वजेको समयमा १२ राउण्ड गोली तानसेन स्थित सेनाको व्यारेक इलाकावाट चलाइएको माओवादीले जनाएको छ ।
सेनाले चलाएको गोलीको छर्रा लागी एकजना जनमिलिसिया घाईते भएको आज पाल्पाको तानसेनमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले जनाएको छ ।
पत्रकार सम्मेलनमा माओवादीका केन्दि्रय सदस्य द्वय सुरेश आलेमगर र सन्तोष बुढामगरले शान्ति वार्ता विथोल्न सेनाले गोली चलाएको आरोप लगाउनु भयो ।
साथै त्यस अवसरमा जनमिलिसिया स्याङजामा आयोजित एक कार्यक्रममा जानका लागि नगरपालिकामा वसेको र आज नै स्याङजा प्रस्थान गरिसकेको बताइएको छ ।
घाईते जनमिलिसियाको नाम खुल्न नसकेको र साँझसम्म खुल्ने माओवादीले जनाएको छ ।
यसैवीच घटनाको छानवीन र दोषीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पामा विरोध प्रदर्शन भएको छ ।
अखिल क्रान्तिकारीको आह्वानमा भैरहेको प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरु सहभागी भएका छन ।
