Google
 

August 22, 2006

बरु अमेरिकाबाट दसवटा मार्कोसलाई समर्थन मिल्नेछ, तर माओको नामले कदापि त्यस्तो समर्थन पाउने छैन

Filed under: Article/लेख

महामहिम जेम्स मोरियार्टीज्यू,
दर्शन हजुर! अभिवादन स्वीकार गरिबक्सियोस् यस सेवकको। आफूले मान्नुपर्ने ठूलाबडालाई हामी दाहिने हात कोप्रो पारेर दर्शन टक्य्राउँछौँ। त्यस्तो दर्शन फोनैबाट पनि टक्य्राउन सकिन्छ र लेखेर पनि। ‘हजुर’ हाम्रो सबैभन्दा आदरयुक्त सर्वनाम हो। महामहिम राजदूतज्यूलाई ‘हजुर’ भनी सम्बोधन गरेको कारण त्यही हो। ‘हजुर’ सर्वनाम सुहाउँदो पुछारमा ‘सियोस्’ झुण्डिएको क्रियापद हुन्छ। गरिबक्सियोस् भनेर सेवकले विन्ती गरेको कारण त्यही हो।

यस सेवकको अङ्ग्रेजीमा लेख्ने हुति पुगेन। उहिले ‘इङ्गलिस बोडिङ्ग स्कूलहरू’ थिएनन्। एउटा खुलेको थियो काठमाडौँको गोदावरीमा, तर आफ्नो जन्म भयो धनकुटा डाँडागाउँको मकैबारीमा। सेवकले लेखेको यस पत्रलाई अङ्ग्रेजीमा कसले उल्था गरेर हजुरको पाउमा पेश गर्ने होला कुन्नि! ‘मङ्गलबजार’ भनेको ‘ट्यूज डे मार्केट’ भन्ने खालको उल्था गरिदेला कि भन्ने ठूलो पीर छ।

हजुरको देश यस पृथ्वीलोककै सर्वशक्तिमान छ। सारा आयुध र अणुपरमाणु अस्त्रशस्त्रबाट सुसज्जित छ। सदा प्रजातन्त्र र स्वाधीनताको रक्षार्थ कृतसङ्कल्प छ। त्यसैका लागि हजुरको देशले कोरियामा लड्नु परेको थियो। भियतनाममा लड्नु पर्‍यो। हाल अफगानिस्तान र इराकमा भिड्नु परिरहेछ। धन्य हौँ हामी यस युगमा बाँच्न पाउनु जुन युगमा हजुरको महान देशलाई जर्ज बुसको नेतृत्व मिलेको छ।

र्ज बुस साहब त यस घडी चक्रवर्ती विश्वस्रमाट वा सो सरह होइबक्सन्छ। त्यस्ता पराक्रमी राष्ट्राध्यक्षको प्रतिनिधिका रूपमा हजुरलाई पाउनु हामी नेपालीको अहोभाग्य हो। हजुरको देशको वरद आशीर्वादबिना संसारको कुनै भागमा पनि प्रजातन्त्र फस्टाउनै सक्दैन।

हाम्रो देशमा प्रजातन्त्र फस्टाओस् भन्नेमा बुस साहवलाई साह्रै ठूलो चासो र चिन्ता छ। त्यसै हुनाले महामहिमज्यू पनि चिन्तित र व्यग्र होइबक्सन्छ नेपालको प्रजातान्त्रिक भविष्यका लागि। त्यो हजुरबाट जारी भएका वक्तव्य, हजुरका अन्तर्वार्ता र भाषणबाट थाहा हुन्छ।

हजुरको महान देश यस सेवकको दृष्टिमा स्कूलको हेडमास्टर जस्तो लाग्छ। हेडमास्टर भन्न पुगेछु, सरी सर। अचेल त प्रिन्सिपल पो भन्नु पर्छ त। अँ, प्रिन्सिपल जस्तै लाग्छ हजुरको देश विद्यार्थीलाई ‘क्यारेक्टर सर्टिफिकेट’ दिने। त्यस्तो क्यारेक्टर सर्टिफिकेटले तानाशाह पनि प्रजातन्त्रवादी बन्न पुग्छ र त्यसको अभावमा क्रान्तिकारी पनि आतङ्ककारी कहलाउँछ।

‘माओवादी मिसिएको सरकारलाई मेरो सरकारले मान्यता दिने छैन’ भन्ने उर्दी पनि हजुरकै मुखारविन्दबाट आएको हो। ठीकै मर्जी भयो। नेपालमा क्रान्ति भएको होइन क्यारे फ्रान्स, रसिया, चीन वा क्युबामा जस्तो। अहिले आएको परिवर्तन त जनआन्दोलनले गर्दा भएको हो। त्यो पनि अधुरो रहेछ भन्ने त अहिले पो थाहा हुँदैछ। यस्तो अधुरो आन्दोलनबाट बनेको सरकारमा माओवादी जान मिल्दै मिल्दैन। यदि सरकारमा जाने हो भने माओवादीहरूले आजै अहिल्यै हतियार बिसाउने मात्र होइन हतियार मिल्काउनुपर्छ त्रिशूली, कोशी, राप्ती, गण्डकी, भेरी जुन नजिक छ त्यही नदीमा।

हजुरबाटै मर्जी भाथ्यो नेपालमा ‘सेरेमोनियल किङ’ चाहिन्छ भनेर यसअघि। हो त नि राजाबिनाको प्रजातन्त्र हामी कहाँ कल्पना गर्न सक्छौँ र! साँच्चि नै माओवादीहरू सरकारमा मिसिए भने त त्यो उनीहरूले शासन हत्याएको ठहरिने छ। के रे हजुरले प्रयोग गरिबक्सेको शब्द? …. ए त्यो ‘टेक ओभर’ हुनेछ। त्यस्तो ‘टेक ओभर’ गर्न मिल्छ अमेरिका ज्यूँदो छँदाछँदै? बरु अमेरिकाबाट दसवटा मार्कोसलाई समर्थन मिल्नेछ, तर माओको नामले कदापि त्यस्तो समर्थन पाउने छैन। त्यत्रो प्रतापी अमेरिकी साम्राज्य हुँदाहुँदै यस संसारमा साम्यवादी विचारले टिकिखान मिल्ने कुरा हो र?

हजुरको उर्दी र चेतावनी हुँदाहुँदै पनि मुलुकको वागडोर माओवादीका हातमा पर्ने हो कि भन्ने ठूलो डर छ यस सेवकलाई पनि। त्यसो भएमा अनर्थ हुनेछ। त्यो भनेको प्रजातन्त्रका लागि खतरा हो। अमेरिकीतन्त्रका लागि चुनौती हो। हजुरले जे बोले पनि आन्तरिक मामिलामा हस्तक्षेप भएको आरोप लगाउने एकथरि छन्। जुन देशको जनसङ्ख्याको आधा हिस्सा निरक्षर छ त्यस्तालाई अर्ती उपदेश दिनु पनि कतै हस्तक्षेप हुन्छ?

महामहिमज्यू, यस दरिद्र देशमा केही छैन– न हीराखानी, न सुनखानी, न तामाखानी, न युरेनियम, न तेलको भण्डार! तर यसको भौगोलिक अवस्थिति त बडो काइदाको छ हजुर! रणनीतिक हिसाबले त बेजोड छ यो देश। त्यसैले यस देशलाई हजुरको देशले छाड्नै मिल्दैन। बरु हजुरको जोड चल्छ भने नेपाललाई ‘पोर्तो रिको’ बनाइस्योस्। यसको अर्थ नेपाललाई संयुक्त राज्य अमेरिकामा गाभियोस् भन्न खोजेको होइन। त्यसको त स्वाधीनताप्रेमी नेपालीले ज्यू–ज्यान दिएर विरोध गर्नेछन्। हामीलाई हजुरको राष्ट्रिय झण्डाको एकाउन्नौ तारा बन्नु परेको छैन। हामीलाई सूर्यचन्द्र अङ्कित झण्डामा गर्व छ। अहिले हामी नयाँ राष्ट्र गानको खोजी गर्दैछौँ। फेला परेपछि त्यसप्रति पनि हामी गर्व गर्नेछौँ। हामी जस्तो गर्विलो जाति आफ्नो देश अमेरिकामा विलय भएको हेर्न सक्तैनौँ। खालि हाम्रो पासपोर्टको हैसियत चाहिँ अमेरिकाको जस्तै होस् भन्न चाहेको हो।

पोर्तो रिको जस्तै नेपाललाई पनि आफ्नो अधीनको एउटा भूखण्ड बनाइबक्सेमा हाम्रो आफ्नै राष्ट्रिय झण्डा हुन्छ, तर मुद्रा हाम्रो अमेरिकी डलर हुनेछ। पासपोर्ट र हाम्रो नागरिकता नेपाली नै रहनेछ। तर कानून अमेरिकाको लागू हुनेछ। त्यसो भएमा हजुरको टाउकोदुखाइ पनि रहँदैन र ‘ग्रीनकार्ड होल्डर’ को हैसियत राख्ने नेपालीजनको चाहना पनि पूरा हुनेछ। जल, थल, वायुसेना हजुरकै जिम्मा हुनेछ। जति अमेरिकी सेना यहाँ ल्याएर थुपारे पनि हुन्छ। दक्षिण कोरियामा जस्तो वा ओकिनावामा जस्तो सैनिक अखाडा राखेको बात हजुरलाई लाग्ने छैन। हामीले खोजेको प्रजातन्त्र हजुरको देशको जस्तै हो। हाम्रो आदर्श अमेरिका हो। जनी गरेर महामहिमज्यू माओवादी समस्याबाट सधैँका लागि मुक्ति दिलाइसियोस्। नेपाललाई ‘प्लीज’ पोर्तो रिको बनाइबक्स्योस्!!

हजुरको अनन्य सेवक;
एक अदना नेपाली  ऋतुराज

himalkabarpatrika

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/08/22/p192/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft