माओवादी र दाईंमा नारिएका गोरू
ऋतुराज
दाईं हाल्ने परालको घानमा नारिएका गोरूको माझमा गएर दाम्लो घाँटिमा छिराएपछि गोरू जसरी घुम्ने गर्छन् त्यसरी नै घुम्नर्ुपर्छ । घुम्न चाहेन भने दाम्लोले लतार्छ । नेपालको सत्तामाथि दाईंहाल्ने क्रममा नागरिएका सातओटा गोरूको माझमा आठौं गोरू बनेर नारिन माओवादी पनि गयो । पाँचओटा मन्त्रालयको जिम्मेवारी पायो । सरकारमा गइसकेपछि अरू जसरी हिँडेका छन् त्यसरी हिँड्नर्ैपर्छ भन्ने आम मान्यता रहन्छ । सरकार भएपछि सरकारकै रूपमा देखिनु पर्छ । यो सरकार हुनुको वाध्यता हो । राजावादीहरू, राप्रपाहरू बाहेकको अहिलेको यो सत्तामा सबै समाविष्ट छन् । कोही प्रतिपक्ष छैन । सबै सत्ता पक्ष । त्यसैले यो बहुमतको सरकारको हो । अहिलेको सत्तालाई यसरी नै बुझ्ने गरिएको छ । माओवादीलाई सबैले सत्तापक्ष अथवा सत्तारूढ दल भनेर बुझ्छन् । र, माओवादी र नेपाली कांग्रेस, एमाले एउटै लिकमा हिँडेको भन्ठान्छन् । सारमा जे होला रूपमा यही नै वास्तविकता हो ।
कुरा दोलखा र पाँचथरतिर मोडौं । दोलखामा प्रमुख जिल्ला अधिकारी माओवादी वाइसीएलको आक्रमणमा परे । प्रजिअमाथि आक्रमण हुनुको कारण भने निश्चय नै छ । माओवादी निकटका व्यक्तिले एकजना राजावादी कार्यकर्तालाई कालोमोसो दले । कालोमोसो दल्नाको पनि कारणहरू छन् । उसले त्यहाँ राजतन्त्रका पक्षमा राजनीति गर्दै आठ दल र जनआन्दोलन-२ को खिल्ली उडाइरहेको थियो । राजावादी चम्चेहरूले पुरानो राजतन्त्रात्मक संसदीय संविधानको आडमा कालो दल्नेमाथि र्सार्वजनिक अपराधअन्तरगत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए । उजुरवालाको उजुरी तुरून्तै सुनेर माओवादीका कार्यकर्तालाई पक्रियो । उनीहरूलाई छाडियोस् भन्ने माओवादीको आग्रह रह्यो । प्रशासनले मुद्दा चलाउने क्रम अघि बढायो । त्यहाँ राजावादी गन्ध देखियो । त्यसले भनाभनको रूप लियो । बढ्दैजाँदा उग्र भयो । तोडफोड भयो । प्रशासनले थप अरूलाई गिरफ्तार गर्यो । त्यसक्रममा प्रजिअ पनि धक्कामुक्कीमा परे । एकजनालाई छाड्न आग्रह गर्न जाँदा अरू दर्जनौंलाई गिरफ्तार गरेपछि त्यसको विरोधमा दोलखा बन्दको कार्यक्रम अगाडि सार्नुपर्यो । यही नै दोलखाको वास्तविकता हो ।
पाँचथरमा स्थानीय विकास अधिकारीले केही कर्मचारीको पदपर्ूर्ति गर्ने क्रममा उम्मेदवारसँग रकम अशुलेर योग्य मानिसलाई फेल र अयोग्य मानिसलाई पास गराएको भन्ने माओवादीको दावी छ । यसका केही तथ्यका आधारहरू लिएर बुझ्न जाँदा स्थानीय विकास अधिकारी फरार भए । जुन पार्टर्ीीमर्थक उम्मेद्वारलाई उनले छनौट गरेका थिए त्यहाँ पुगेर माओवादीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रोपोगाण्डा गरे । माओवादीकोविरूद्धमा त्यति कुरा सुन्न पाएपछि अरू दलका नेतालाई चाहिएजति मसला मिल्यो । घुस खानेलाई एउटा पक्षले विरोध जनायो अर्को पक्षले काँधमा बोकेर माओवादीको ज्यादती, आतंक भन्दै राजनीति गर्यो । दोलखा र पाँचथरको वास्तविकता यही हो । जुन घटनाले अहिले राष्ट्रिय रूप लिएको छ । स्थानीय विकास र गृह मन्त्रालयको गेटमा धर्ना दिइएको छ । अधिराज्यका प्रजिअले विरोध गरेका छन् माओवादीको । संसद्मा बहस चलेको छ । अखबारमा समाचार, सम्पादकीय, आलेखहरू लेखिएका छन् । जहाँ प्रजिअ नै असुरक्षित हुन्छ भने अरू को सुरक्षित होलाभन्दै अखबारका पाना रंगाइएका छन् । यसलाई लगेर संविधान सभाको निर्वाचनमा जोडिएको छ । माओवादीको यस्तै ज्यादतीकोकारणले संविधानसभाको निर्वाचन नहुने भयो भनिएको छ । यही विषयलाई लिएर अब दिल्ली र वासिंगटन बोले भनेपनि आर्श्चर्य मान्नुपर्दैन ।
अहिले भइरहेको के छ भने माओवादी सत्तामा भएकोले ऊ मर्ूर्ति बन्नर्ुपर्छ । केही बोल्नु हुँदैन र केही गर्नुपनि हुँदैन । यहाँ जे-जस्ता अपराधहरू होउन्, हत्या, डकैती, कालाबजारी, भ्रष्टाचार, अनैतिकता जस्तासुकै घटना घटाइएपनि माओवादीले मुख खोल्न पनि हुन्न र हातखुट्टा चलाउन पनि हुन्न । माओवादी रबरको मर्ूर्ति बन्नर्ुपर्छ । सात दलले र राजावादीले चाहेको यही हो । अझ दिल्ली र वासिंगटनले चाहेको पनि यही हो । सात दलले जे गरे पनि हुन्छ केही गर्न नहुने माओवादीलेमात्र हो । सात दलकाले जे-जे लूटेपनि हुन्छ, जे-जे लुँड्याएपनि हुन्छ, यिनीहरू जहाँ जस्तोसुकै ताण्डव नृत्य नाचेपनि हुन्छ । यिनीहरू राजदरबारतिर गएपनि हुन्छ, दिल्ली दरबारतिर गएपनि हुन्छ । राजासँग मिलेर सेरेमोनीयलको संरचनामा साँठगाँठ गरेपनि हुन्छ र दिल्लीतिर गएर राष्ट्रघाती सम्झौता गरेपनि हुन्छ । केही गर्न नहुने र केही बोल्न पनि नहुने माओवादीमात्र हो । किनभने सबैको यतिबेलाको एउटै उद्देश्य भनेको माओवादीलाई आफ्नो टाँङमुनी छिराएर उसको पिठ्युँमाथि चढेर हट्हट् घोंडे भन्नु हो ।
सानो छँदाको कुरा हो, एकपटक बुबाले एउटा मोटोघाटो झक्कडे गोरू किनेर ल्याउनु भयो । गोठमा रहेको पुरानो गोरू त्यसका अगाडि लुरे देखियो । हानाहान् गर्लान् भनेर पहिलो दिन नयाँ गोरूलाई अलिपरै बाँधियो । भोलिपल्ट दाना ख्वाउने बेलामा डुँड्मा त सँगै ल्याउनु पर्यो । तर, घरको पुरानो लुरे गोरूले नयाँलाई झम्टीहाल्यो । नयाँगोरू एकछिन् हच्कियो । लौरो लिएर बुबा नजिकै उभिएकोले पनि त्यो हच्केको थियो । नयाँ गोरू हच्केपछि पुरानो गोरूले आफ्नो भाग छाडेर नयाँको भागनेर आएर खान थाल्यो । त्यसपछि नयाँ गोरू एकपटक डुक्रेकोमात्र के थियो पुरानो लुरे गोरू डरले आफ्नै भाग खान थाल्यो । पुरानोले आफ्नो जुन प्रकारको एकाधिकार बनाएको थियो त्यो कसैले खोस्न आउँदा पुरानोलाई रिस उठेको हुनर्ुपर्छ । अहिले नेपालको सत्तामा पनि त्यही भएको छ । माओवादी झक्कडे पर्यो । सात दल पुराना आफ्नै सबै कुरा लुँड्याएकामध्ये परे । माओवादी भाग खोस्न आउँदा भाउन्ने भएको छ । उनीहरूले जे गर्छन्, पछिपछि त्यसकै र्समर्थन गर्दै हिँडेको भए टाउको दुखाइ हुने थिएन । उनीहरूले अरूका अन्यायपर्ूण्ा र विसंगतिपर्ूण्ा कार्यको विरोध गर्दा सबैले समवेत स्वरमा -लौ माओवादीले मान्छे पिट्यो, धम्कीदियो, घुर्यो, आँखा तर्यो, कुइनाले ठोक्कायो, चप्पल कुचिदियो, यस्तै यावत थोंत्रा कुरा उठाएर आफू ठीक, असल, सज्जन, लोकतन्त्रवादी र माओवादीचाहीँ गलत, खराब, दर्ुजन, लोकतन्त्रविरोधी भन्दै जनतामा सुनाउँदै छन् ।
यहाँ उनीहरूले यसो भन्नुमा गल्ती उनीहरूको मात्र हैन, गल्ती माओवादीको पनि छ । सिंगो विश्वलाई वैज्ञानिक विचारले हल्लाउन सकेको र पुरानो नेपालको सत्तालाई खुम्चाएर राजधानीको रिंगरोडभित्र साँघुराएको माओवादी राजावादीहरूको पछिलागेर सिंहदरबारमा गयो । कांग्रेस, एमाले, राजावादी हुन् भनेर जान्दाजाँदै, उनीहरूले वस्तुलाई विगार्छन् भनेर थाहा पाउँदा पाउँदै सिंहदरबार नजानु पथ्र्यो । रामराजाप्रसाद सिंहले एउटा अन्तर्वातामा ठीकै भनेका छन् कि- आन्दोलन सफल हुँदासाथै मुलुकमा गणतन्त्र लागू गरिएको छ भनेर घोषणा गर्न सक्नुपथ्र्यो । त्यो नगरी सरकारमा जानु गल्ती थियो । संविधान सभाको निर्वाचनको माग राखेर वार्तामा बस्दा वार्ता नै भाँडेर युद्धमा फर्काउनेहरूले आज संविधान सभाको निर्वाचन आफ्नो अनुकूलताको वातावरण नबन्दै सम्पन्न गर्लान् भनेर माओवादी कसरी विश्वस्त हुनसक्यो - उनीहरूले संविधान सभाको निर्वाचन, लोकतान्त्रिक गणतन्त्र आदिको त रामनामी खाष्टोमात्र ओढेका थिए । त्यसभित्रको शरीरमा ँश्री ५’ नै कुँदिएको थियो । ँराजतन्त्र’ खोपिएको थियो । माओवादीले खाष्टोमात्र हेर्यो, भित्रको शरीर हेरेन । आज त्यसकै प्रतिफल भुक्तान गर्नुपरेको छ । तिनै संविधान सभाका कट्टर दुश्मनले संविधानसभाको जन्मदातालाई ँचुनाव भाँड्ने’ भनेर आरोप लगाउँदैछन् । यस्तो पनि भन्न सकेका छन् र सुन्नु परेको छ ।
राजनीति, विचार, दर्शनको आ-आफ्नै बाटो हुन्छ । त्यही बाटो समातेर हिँड्यो भनेमात्र गन्तव्यमा पुगिन्छ । माओवादीको राजनैतिक गन्तव्य पुरानो सत्ताको आधार भत्काउनु हो । आफ्नो प्रकारको नयाँ आधारको जग बसाल्नु हो । त्यही जगमा टेकेर जनवादी राज्यसत्ताको स्थापना गर्नु हो । सामन्तवादका सबैखाले अंगहरू र साम्राज्यवादले थोपरेका सबैखाले विकृत अंगहरूलाई मिल्काएर जनवादी-राष्ट्रवादी राज्य संरचनाको विकास गर्नु हो । यसमा कठिनाइहरू त तमाम छन् । देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरूले यसमा तममा अवरोध पुर्याउँछन् । परन्तु ती सबैलाई परास्त गर्ने जनताको तागत र साथ पनि माओवादीको पक्षमै थियो र छ । अहिले उसले सत्तामा गएर, सरकारमा बसेर त्यो तागतलाई क्षिण पार्दैछ । यदि यही ढंगले अघि बढ्दै जाने हो भने माओवादीले भोलिका दिनमा विगतमा कब्जागरेर जनतामा बाँडिदिएको सामन्तका जग्गाजमीन पनि फिर्ता गर्नुपर्ने अवस्था आउँछ । राज्यमा गरिने यावत अपराधहरूलाई टुलुटुलु हर्ेर्नुपर्ने अवस्था आउँछ । कुनैपनि अन्यायपर्ूण्ा कार्यको विरूद्धमा बोल्यो भने दोलखा र पाँचथरको स्थिति हुन्छ । राज्यमा अहिले जे जति अन्यापर्ूण्ा काम भएका छन् त्यसलाई सरकारमा बसेर थाप्लोमा बोक्ने काम माओवादीले गर्नुहुँदैन । संविधानसभाको निर्वाचन समयमा गराउने हो, जनताको संविधान लेख्ने हो भने माओवादी जनताको ठाउँमा नै र्फकनु पर्छ । सदन र सडकको आन्दोलन नै माओवादीको लक्षमा पुग्ने उपयुक्त धरातल हो । राज्यले गरेका गल्तीलाई थाप्लोमा बोक्नु पनि पर्दैन । र, यसरी प्रतिक्रियावादीले शब्दवाण प्रहार गर्ने ठाउँ रहन्न । आलोचित हुनुपनि पर्दैन । यतिबेला माओवादीलाई सरकार हुनुको अनुभूति गराउन आवश्यक छैन । आवश्यक छ -नयाँ नेपाल निर्माण गर्ने आन्दोलनको नेतृत्व गर्न ।
