Google
 

March 19, 2009

नेविसंघ २६ अनेरास्ववियु १७ र क्रान्तिकारी २३ स्थानमा विजयी

नेविसंघ २६ अनेरास्ववियु १७ र क्रान्तिकारी २३ स्थानमा विजयी
१९मार्च,२००९
काठमाडौं-त्रिभुवन विश्वविद्यालयका ६० आंङ्गकिसहित देशभरका ३ सय भन्दा बढी क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

केही क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुबीच विवादका कारण स्ववियु निर्वाचन स्थगित गरिएको छ । विवादका कारण राजधानीका पाँच प्रमुख क्याम्पसमा निर्वाचन स्थगित भएको छ । पदमकन्या, विश्वभाषा, आरआर, नेपाल ल र सरस्वती क्याम्पस गरि पाँच क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

पछिल्लो परिणाम अनुसार काँग्रेस निकट नेविसंघ र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी दोस्रो अग्रस्थानमा रहेका छन् भने एमाले निकट अनेरास्ववियु तेश्रो स्थानमा छ । पछिल्लो परिणाम अनुसार कोटेश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । यस्तै ललितपुरको लुभुस्थित महालक्ष्मी क्याम्पस र काभ्रेको देउरालीस्थित वावा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको छ । यस्तै काभ्रेको कानपुर क्याम्पस, धुलिखेल क्याम्पस र ढिकिथुम्का क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ ।

धुलिखेलमा नेविसंघका सभापति र ढिकीथुम्कामा अनेरास्ववियुका सभापति निर्वाचित भएका छन् । काभ्रेको संजिवनी कलेज र काठमाडौंको भद्रवास स्थित शहीद आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

धनकुटाको जितपुर क्याम्पसमा क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ । मकवानपुरको पालुङ क्याम्पस र काठमाडौंको शहिद मनोहरा क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी भएको छ । पाल्पाको माण्डव्य बहुमुखी र उच्चबुद्ध क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । चितवनको दिब्यनगर र पटीयानी क्याम्पसमा क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ । दुवै क्याम्पसमा क्रान्तिकारीका सभापति छन् ।

त्यस्तै प्युठान क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल विजयी भएको छ । लमजुङको मंगल क्याम्पस र सूर्यपालमा सभापति सहित सात पद र पुष्पलता क्याम्पस रम्घामा सभापति सहित पाँच पदमा नेविसंघ विजयी भएको छ । लमजुङकै इशानेश्वर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । सुर्खेतको जनता बहुमुखी क्याम्पसमा सभापति र एक सदस्य अनेरास्ववियु र बाँकी सबै पदमा नेविसंघ विजयी भएको छ । भैरहवाको रुपन्देही क्याम्पसमा सदभावना पार्टी निकट नेपाल विद्यार्थी मञ्चको प्यानल विजयी भएको छ ।

सैनिक अधिकारीहरुको पदावधि थपिन्न

सैनिक अधिकारीहरुको पदावधि थपिन्न: प्रधानमन्त्री

सेनाका आठ बरिष्ठ जेनरलहरूको पदावधि गत आइतबार नै समाप्त भएको थियो
वरिष्ठ सैनिक अधिकारीहरुको पदावधि थप्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अस्वीकार गरिदिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंगको भेटमा प्रधानमन्त्रीले उक्त जानकारी दिएका हुन्।

आठजना सहायक रथी (व्रिगेडियर जनरल) हरुको तीन वर्षे म्याद नथपेकोमा सरकारमाथि चर्को दबाब बढाउने अभियानको अगुवाइ गरिरहेका कोइराला र प्रधानमन्त्री प्रचण्डबीच कोइराला निवासमा बिहीबार भेट भएको थियो।

कोइरालाले आफूलाई भेटन पुगेका प्रधानमन्त्रीलाई शुरुमै सैनिक अधिकारीहरुको पदावधि नथपेको बारेमा असन्तुष्टि, आक्रोश र गुनासोयुक्त प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले नयाँलाई अवसर दिने आफ्नो शुरुदेखिको नीति अनुसार नै म्याद थप नगरिएको बताएको उनका प्रेस सल्लाहकार शर्माले बताए।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनले भने, “सेनाको मनोबल गिराउने नियत हैन। यो नियमति र सहज प्रकृया हो।”

अवकास पत्र

उक्त भेटपछि मात्र रक्षा मन्त्रालयले आठजना सहायक रथीलाई अवकास दिइएको पत्र सैनिक मुख्यालयलाई पठाएको छ।

उनीहरुको पदावधि गत आइतबारदेखि नै सकिएको थियो।

कोइरालाले भने साँझ पनि सरकारको दोश्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमाथि दबाब बढाउन आग्रह गरिरहेका थिए।

प्रतिउत्तरमा खनालले सरकारी निर्णय प्रकृयाप्रति असन्तुष्टि जनाएको बुझिएको छ।

कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले भने, “सेनाको संस्थागत विकास, त्यसले प्राप्त गरेको राष्ट्रिय-अन्तराष्ट्रिय साख र व्यवसायिक प्रतिष्ठाको संरक्षण गर्न संवैधानिक र राजनीतिक प्रकृयाबाट के गर्नुपर्छ भन्नेमा सल्लाह सहित अगाडि बढ्छौँ।”

कोइरालाले बुधवार पनि विभिन्न दलका नेताहरुसंग सामूहिक छलफल गरेका थिए।

बुधबारको छलफलका एकजना सहभागी भूतपूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाले बिहीबार एउटा वक्तव्य मार्फत सैनिक अधिकारीहरुको म्याद थप नगर्नुलाई ‘नेपाली सेना ध्वस्त गर्ने योजनाको एउटा अंग’ भएको बताएका छन्।



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft