फिल्मी शैलीमा ज्यान जोगाइन् ६ वर्षीया बालिकाले
काठमाडौं, २५ चैत
2009-04-08,Wednesday
जन्म दिने बाबु नै खुकुरी नचाउँदै काल बनेर आएपछि ६ वर्षीया बालिकाले फिल्मी शैलीमा ज्यान जोगाएकी छिन् । नाबालिका दिदी-बहिनीको ज्यान बचे पनि आमाको भने ज्यान गएको छ ।
काभ्रेका गणेशबहादुर दनुवार माइत बसेकी श्रीमतीलाई भेट्न सोमबार साँझ काठमाडौं झोंछे आएका थिए । झोंछेको श्रेष्ठ परिवार ज्वाइँलाई खानपिन गराएर सुत्ने तरखरमा थियो । सालीसँग गफ गरेर सुत्न तल कोठामा झरेपछि २८ वर्षीय गणेश एकाएक पागलजस्ता भए । उनी अरूलाई होइन, खुकुरीले आफ्नै श्रीमती र छोरीहरूलाई प्रहार गर्न थाले ।
आमालाई खुकुरीले हान्दै बाबु आफूमाथि समेत आइलागेपछि ६ वर्षीया अञ्जली दनुवार आमाको सारीलाई डोरी बनाएर झ्यालबाट छिमेकीको छतमा हामफालिन् । कलिलो दिमागमा उब्जिएको चतुर्याइँले उनको ज्यान त जोगियो, तर त्यस वेलासम्म उनी सख्त घाइते भइसकेकी थिइन् । बाबुले उनको कलिलो टाउकामा खुकुरी हानिसकेका थिए । डाक्टरका अनुसार अञ्जली अझै खतरामुक्त छैनन् ।
वीर अस्पतालको सघन उपचारकक्षमा रहेकी उनी अहिले पनि झस्किरहन्छिन् वेलावेला । उनी भनिरहन्छिन्, ‘बाबुले ममीलाई हान्नुभयो अनि हामीलाई पनि हान्नुभयो ।’
छोरी भाग्न सफल भए पनि उनका बाबु गणेशबहादुरले श्रीमती लक्ष्मी दनुवारको जीवन समाप्त पारिदिएका छन् । उनले १८ महिनाकी कान्छी छोरी अंशुलाई समेत खुकुरी हानेर घाइते बनाएका छन् ।
खाना खाएर सुत्ने तयारीमा रहेकी श्रीमतीलाई गणेशले एक्कासि घाँटीमा खुकुरी प्रहार गरे । लक्ष्मी ओछ्यानमै ढलिन् । श्रीमती ढलेपछि दनुवारले कोठामा रहेका अबोध छोरीहरूलाई समेत हान्न थाले । उनले भकाभक ६ वर्षीया जेठी छोरी र १८ महिनाकी कान्छीलाई समेत खुकुरीले हाने । ठूली छोरी झ्यलाबाट भागेपछि उनले कान्छी छोरीलाई समेत टाउकैमा खुकुरी प्रहार गरे ।
बाबुले खुकुरी हाने, आमाको ज्यान गयो, ६ वर्ष र डेढ वर्षकी छोरी अस्पतालमा
रुवावासी चलेपछि छिमेकीहरू के भयो भन्दै जम्मा भए । गणेशले ससुरालीका छिमेकी प्रवीण गुरुङमाथि पनि आक्रमण गरे । गुरुङको पनि टाउकैमा चोट लागेको छ ।
श्रीमतीलाई मारेर मात्र गणेशको चित्त बुझेन । रगतपच्छे भएर ढलेकी श्रीमतीलाई डस्नामा बेरेर आगो लगाइदिए । उनी आफू पनि कोठामै थिए । आगो दन्किन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरे ।
महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी निरीक्षक तुलबहादुर कार्की टोली लिएर पुगे घटनास्थलमा, तर प्रहरीले पनि सहजै अभियुक्तलाई पक्राउ गर्न सकेन । ‘ऊ उग्र थियो । आफ्नो नजिक कसैलाई आउन दिइरहेको थिएन,’ कार्कीले भने । गणेशले प्रहरीमाथि पनि आक्रमण गरे, आक्रमणबाट असइ एमबहादुर केसीको मुखमा गम्भीर चोट लागेको छ ।
‘लामो प्रयासपछि स्थानीयवासी र प्रहरी मिली उसलाई नियन्त्रणमा लिइयो,’ प्रहरी निरीक्षक कार्कीले भने । अभियुक्त दनुवार अहिले महानगरीय प्रहरीपरिसर हनुमानढोकाको थुनामा छन् ।
ससुराली आएका गणेशले किन काल बनेर ताण्डव मच्चाए, ससुराली परिवारका सबै आश्चर्यमा छन् । मृतक लक्ष्मीकी आफन्त सुनीता श्रेष्ठले भनिन्, ‘उनीहरू दुईजना कहिल्यै झगडा गरेको थाहा थिएन, बहिनी-ज्वाइँको सम्बन्ध पनि राम्रै थियो, कसरी यस्तो घटना भयो हामी नै अन्योलमा छौँ ।’
अभियुक्त पक्राउ परे पनि हत्याको कारण भने खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका दनुवार मौन छन् । महानगरीय प्रहरीपरिसरका प्रवक्ता दधिराम न्यौपानेले भने, ‘ऊ अहिलेसम्म बोलेकै छैन, मौन छ ।’
पीडित परिवारका अनुसार लक्ष्मी र गणेशबीच सात वर्षअगाडि प्रेम-विवाह भएको हो । गणेश रेस्टुरेन्टका कुक हुन् । उनी ठमेलमा रहेको फोर सिजन रेस्टुरेन्टमा काम गर्थे । दुई वर्षअगाडि कुकको काम छोडेपछि उनी बेरोजगार बनेका थिए ।
लक्ष्मी भने पहिलेदेखि नै पूर्ण गृहिणी थिइन् । श्रीमान् बेरोजगार बनेपछि छोरीलाई पढाउन लक्ष्मी माइतमै बसेकी थिइन् । ‘ज्वाइँ लक्ष्मी र छोरीहरूलाई भेट्न आइरहन्थे,’ मृतककी आफन्त सुनीताले भनिन्, ‘वेलावेलामा लक्ष्मीले जागिर खोज्नुस् न भनेर दबाब दिन्थिन् त्यत्ति हो, त्यसबाहेक अरू कुनै तनाव थिएन ।’
माइतीले गणेशले योजनाबद्ध रूपमा साथीको सहयोगमा हत्या गरेको आशंका गरेका छन् । घटनालगत्तै झ्यालबाट अर्को युवक भागेको छिमेकीले देखेको र सोही आधारमा घटना थाहा पाएको दाबी छ सुनीताको पनि । उनले भनिन्, ‘हत्या एकजनाले मात्र गरेको जस्तो देखिँदैन, छिमेकीले पनि कोठाबाट कोही भागेको देखेको बताएका छन्, तर को हो त्यो खुल्न सकेको छैन ।’ हत्यामा प्रयोग गरिएको हतियार अभियुक्त आफैंले लिएर आएको बताउँदै उनले भनिन्, ‘उसले हत्या गर्ने योजना बनाएरै खुकुरीसमेत बोकेर आएको रहेछ ।’
अभियुक्तको व्यवहार हेर्दा घटना आवेशपूर्ण देखिए पनि हत्याको प्रकृति हेर्दा योजनाबद्ध हुनसक्ने सम्भावना रहेको महानगरीय प्रहरीपरिसर काठमाडौंका एसपी नवराज सिलवाल बताउँछन् । प्रारम्भिक अनुसन्धानमा अभियुक्तले ‘चुरोट खायो भनेर किचकिच गरेकाले रिस उठेर हत्या गरेको’ बताए पनि उसको भनाइ विश्वसनीय नभएको प्रहरीको भनाइ छ ।
हत्याको प्रकृति हेर्दा अभियुक्त व्यावसायिक हत्यारा हुनसक्ने सम्भावना रहेको सिलवालले बताए । उनले भने, ‘उसले हत्यामा प्रयोग गरेको हतियार र हत्याको प्रकृति हेर्दा हतियार चलाउनसक्ने पोख्त हत्याराझैं देखिएको छ ।’ सिलवालले उनको पृष्ठभूमिबारे अनुसन्धान सुरु गरिएकाले यथार्थ चाँडै बाहिर आउने बताए ।
